काठमाडाैं । मेहबुब आलम र क्रिकेटर आदिल अन्सारीलगायतका क्रिकेटरले म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपबाट उन्मुक्ति पाएका छन् । जिल्ला अदालत काठमाडौंले अभियोग दाबी नपुगेको भन्दै उनीहरूलाई सोमवार सफाइ दिएको हो । न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आलम र अन्सारीसहित ५ जनालाई निर्दोष ठहर गरेको छ ।
सफाइ पाउने अन्यमा ३ जनामा नीतेश साह गुप्ता, नवीन कँडेल र रवि माझी छन् । उनीहरूविरुद्ध गत वर्षको फागुन ५ गते मुद्दा दायर भएको थियो । उनीहरूमाथि गत वर्षको ९ पुसदेखि २७ सम्म कीर्तिपुर मैदानमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।
नेपाली राष्ट्रिय टोलीका सदस्य अन्सारी, पूर्वसदस्य आलम र नीतेश गुप्ता यसपछि माघमा पक्राउ परेका थिए । त्यसको तीन महिनापछि जनही तीन लाख रुपैयाँ धरौटीमा छुटेका उनीहरूले सोमवार फैसला आउँदा सफाइ पाएका हुन् । आलमले आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव गरेको अभियोग पत्रमा दाबी गरिएको थियो ।
आलम विश्वकीर्तिमानी खेलाडी हुन् । उनले गिनिज बुकमा नाम लेखाएका छन् । सन् २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १० विकेट लिँदै उनी सीमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी बनेका हुन् । अर्कोतिर आदिल पनि सम्भावना बोकेका खेलाडी थिए । तर फिक्सिङमा परेसँगै करिअर धरापमा परेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google