
काठमाडौं । नेपालले महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउने भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपाल र थाइल्यान्डलाई एसिया कप खेल्न मौका दिँदै जुलाईमा श्रीलंकाको दम्बुलामा हुने एसिया कपको खेलतालिका मंगलबार सार्वजनिक गरेको छ ।
६ साताअघि मलेसियामा सम्पन्न एसिया कप छनोटमा नेपाल र थाइल्यान्ड सेमिफाइनलमै रोकिएका थिए । छनोटको फाइनल पुग्ने टोलीले मात्र एसिया कप खेल्ने पाउने प्रावधान थियो । नेपाल र थाइल्यान्डलाई रोक्दै मलेसिया र यूएई एसिया कपका लागि छनोट भएका थिए । नेपाली टोली सेमिफाइनलमा मलेसियासँग अन्तिम ओभरमा ४ विकेटले पराजित भएको थियो ।
नेपालले यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेको थियो । जुलाई १९ देखि २८ सम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र यूएई छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेको छ । नेपालले जुलाई १९ मा पाकिस्तान, २१ मा यूएई र २३ मा भारतसँग समूह चरणको खेल खेल्नेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google