
काठमाडौँ । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र ब्याटर एवं पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
टी–२० विश्वकप २०२४ को उपाधि जिते लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् ।
'यो मेरो अन्तिम खेल हो, फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो । मैले हरेक क्षण आनन्द लिए । विदा लिने यो समय हो ।’
खेलपछिको पत्रकार सम्मेलनमा काेहलीले भने ‘यो सन्यास लिने सही समय हो । अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ । यो भारतका लागि मेरो अन्तिम टी–२० विश्वकप खेल थियो ।’
फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले उपाधि जित्दा कोहली प्लेयर अफ दी म्याच घोषित भए । उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक ७६ रन बनाएका थिए ।
५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए । भारतका लागि १ सय २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले ४ हजार १ सय ८८ रन जोडेका छन् ।
सन् २०१० मा डेब्यु
कोहलीले सन् २०१० मा हरारेमा भएको खेलमा जिम्बाव्वेविरुद्ध डेब्यु गरेका थिए । अन्तिम खेल भने दक्षिण अफ्रिकाविरुद्ध रह्यो । एक समय कप्तान समेत रहेका कोहलीले टी–२० आईमा भारतको लागि एक सय २५ खेल खेलेका छन् । जसमा चार हजार एक सय ८८ रन बनाएका हुन् । जसमा एक सतक र ३८ अर्धतक बनाएका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google