
काठमाडौँ । एएफसी एसियन कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले हराएको छ। तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले ४ गोल गरेको थियो । दोस्रो हाफमा नेपालले ४ गोल थपेको हो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारीले पहिलो हाफमा ह्याट्रिक पूरा गरिन् । उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । सातौं मिनेटमा अनिता बस्नेतको कर्नरमा गीता राना मगरले हेडरमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको २० औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।
खेलको ४२औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्राले ह्याट्रिक पूरा गरिन् । सबिता राना मगरले बायाँतर्फबाट दिएको बललाई उनले हेडर मार्फत गोलमा परिणत गरेकी हुन् । खेलको ५३औं मिनेटमा रश्मिकुमारी घिसिङलाई फाउल गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको थियो ।
नेपालका लागि ५४औं मिनेटमा गीता राना मगरले पेनाल्टीमार्फत गोल गरिन् । यो नेपालको पाँचौं गोल थियो । खेलको ६२औं मिनेटमा नेपालकी डिफेन्डर अनिता बस्नेतको कर्नरमा निशा थोकरले हेडरमार्फत गोल गरेकी हुन् । यो नेपालको छैटौं गोल हो । खेलको ७८औं मिनेटमा रेखा पौडेलले गोल गरिन् । पूजाले डिबक्स बाहिरबाट दिएको पासलाई रेखाले हेडरमार्फत गोल गरेकी हुन् । यो प्रतियोगितामा रेखाको यो पहिलो गोल हो ।
नेपालको लागि फर्वाडमा खेलिरहेकी पुजा राना मगरले खेलको ८९औं मिनेटमा गोल गरिन् । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बलियो टिम उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल फिफा वरियताको १००औं स्थानमा रहेको छ भने उज्वेकिस्तान ५१औं स्थानमा छ ।
न्तिम खेलमा उज्वेयिकस्तानलाई हराएको खण्डमा नेपालले अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ। नेपालले अन्तिम पटक सन् १९९९ मा एसियन कप खेलेको थियो । यदि समूह चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानलाई हराएको खण्डमा नेपाल २६ वर्ष पछि एसियन कपमा छनोट हुनेछ । नेपालले सन् २०२२ मा भारतमा भएको एसियन कपमा स्थान बनाउन सकेको थिएन ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google