वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी, रोहित पौडेल बने प्लेयर अफ दि सिरिज

दर्पण दैनिक २२ बैशाख २०८१,१७:२०
post

काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए ।

नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरमा आएका अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । ओपनर कुशल भुर्तेललाई नेपालले १३ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए ।

दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । कप्तान रोस्टन चेसले २३ बलमा ५ चौकासहित सर्वाधिक ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११/११ रनमा आउट भए । म्याथ्थु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।

तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो ।

रोहित पौडेल बने प्लेयर अफ दि सिरिज

वेष्टइण्डिज एविरुद्धको सिरिजमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन् । उनलाई शनिबार नगद २५ हजारसहित पुरस्कृत गरिएको छ । पाँच खेलको सिरिजमा ४ खेल खेलेका उनले तीनवटा म्याचमा ब्याटिङको अवसर पाएका थिए ।  ३ खेलमा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएका छन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: