
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टीम र अफिसियल टोलीलाई भेटेर अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने प्रतिवद्धता जनाएका छन् । आज बिहान बालुवाटारमा खेलाडीहरूलाई भेटेर प्रधानमन्त्रीले उक्त प्रतिवद्धता जनाएका हुन् ।
प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच नेपाली भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्नेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही ३ लाख दिने निर्णय गरिसकेको जानकारी गराएका थिए । उनले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प थिए ।
‘तपाईँहरूलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरू गर्नेछौँ । आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस्’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’
मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीले बताएका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google